आरके श्रीवास्तव,राैतहट,भदौ २७ गते ।
रौतहट जिल्लाको हर्षाहा क्षेत्रमा अवस्थित प्रहरी चौकीमा गत भदौ २३ गते भएको जेनजी आन्दोलनको क्रममा केही उत्तेजित समूहले आगजनी गरी चौकी पूर्णरूपमा क्षति पुर्याएका थिए । घटनामा चौकीका संरचना जलेर नष्ट भएका थिए भने प्रहरी प्रशासनको कामकाज पनि प्रभावित भएको थियो ।
तर यो घटनाले स्थानीय सज्जन नागरिकहरूको प्रहरीप्रतिको विश्वास र सहयोग भावना कम गर्न सकेन् । चौकी जलेपछि क्षेत्रका भद्रभलाद्मी, समाजसेवी र स्थानीय नागरिकहरूले पहल गर्दै त्यसलाई पुनः मर्मत गरी सञ्चालनमा ल्याउने कार्य अघि बढाएका छन् ।
ईलाका प्रहरी कार्यालय गरूडाका डिएसपी राजन कार्कीका अनुसार, “नेपाल प्रहरी जनताको जिउधनको सुरक्षाका लागि २४ सै घन्टा तत्पर रहन्छ । अस्थायी आवेगमा आएको एउटा समूहको गतिविधिले हामीलाई रोक्न सक्दैन् । हामी अझ बलियो, सुदृढ र कर्मठ बन्दै जनताको सेवामा समर्पित रहनेछौं।”
स्थानीय जनताको सहयोगमा चौकी पुनःनिर्माणको कार्य सुरु भइसकेको छ । यस क्रममा आवश्यक सामग्री जुटाउने, श्रमदान गर्ने र आर्थिक सहयोग गर्ने कार्यमा समुदायले सक्रियता देखाइरहेका छन् । प्रहरी प्रशासनले पनि चौकी सञ्चालन पुनः सुचारु गर्न आवश्यक तयारी गरिरहेको जनाएको छ ।
सामुदायिक सहभागिता र प्रहरी प्रशासनबीचको सहकार्यले हर्षाहामा कानुनी शासन र शान्तिको पुनःस्थापना हुने आशा गरिएको छ ।








