बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ २७ गते ।
रौतहट जिल्लाको ईशनाथ नगरपालिका–१ स्थित बकैया खोलामा नुहाउने क्रममा एक किशोर डुबी बेपत्ता भएका छन् ।
बिहिवार दिउँसो ३:१५ बजेको समयमा स्थानीय फौदी साहका १५ वर्षीय छोरा बिगन साह पाँच जना साथीसँग खोलामा नुहाउने क्रममा खोलाको बहाव अचानक बढेपछि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।
घटना सम्बन्धी खबर अपराह्न ४:१५ बजे प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्जराहाबाट प्रहरी निरीक्षक (प्र.ना.नि.) को कमाण्डमा दुई जना र स.प्र.नि.को कमाण्डमा चार जना गरी जम्मा ६ जनाको टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो ।
अन्य चार जना बालक भने सकुशल रहेका छन् । बेपत्ता भएका बालकको खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
घटना स्थल ईलाका प्रहरी कार्यालय बन्जराहाबाट पूर्वतर्फ करिब २ किलोमिटरको दूरीमा रहेको बताइएको छ ।
प्रहरी र स्थानीयबासीको सहयोगमा खोज तथा उद्धार कार्य तीव्र रूपमा अगाडि बढाइएको छ ।








