आरके श्रीवास्तव,राैतहट,१६ गते कार्तिक ।
राैतहटकाे फतुवा विजयपुर नगरपालिकामा कागजी प्रक्रिया नमिलाई कानुन विपरीत भुक्तानी गर्न दबाब दिइएको भन्दै कार्यवाहक नगरप्रमुख अम्बेया खातुन, प्रमुख प्रशासकीय अधिकृत भरत यादव र लेखा प्रमुख कामेश्वर सहनीले आपत्ति जनाएका छन् । उनीहरूले कानुनी प्रक्रिया अनुसार मात्र भुक्तानी गर्न सकिने भन्दै सामाजिक सञ्जालमार्फत आफूहरूलाई बदनाम गर्ने प्रयास भएको दाबी गरेका छन् ।
नगरपालिकाका अनुसार २० लाख र १० लाख गरी जम्मा ३० लाख रुपैयाँ बराबरका एउटै प्रकृतिका कामहरूलाई टुक्रा पारेर गरिएको र ती कार्यहरू सन्तोषजनक नभएको बुझिएको छ । नगरस्तरीय बजेटबाट सो काम गरिए पनि आवश्यक कागजी प्रक्रिया पूरा नगरिएकाले भुक्तानी रोकिएको बताइएको छ ।
टावर लाइटका सप्लायर ललित श्रीवास्तवले भने सबै कागजात दुरुस्त रहेको दाबी गर्दै करिब छ महिनादेखि भुक्तानी रोकिएको भन्दै असन्तोष व्यक्त गरेका छन् । उनका अनुसार आफूले तोकिएको कार्य सम्पन्न गरी सबै प्रमाणसहित बिल पेश गरेको भए पनि इन्जिनियरदेखि हाकिम र लेखापालले अनावश्यक ढिलाइ गरेको आरोप लगाएका छन् ।
तर नगरपालिका प्रशासनले श्रीवास्तवका आरोप अस्वीकार गर्दै, “कागजी प्रक्रिया पूरा नगरी भुक्तानी गर्न नमिल्ने कानुनी व्यवस्था छ,” भन्दै उनले हाकिम, लेखापाल, इन्जिनियर, जिन्सी शाखा र कार्यवाहक मेयर अम्बेया खातुनका श्रीमान् मोहमद सेराज आलमलाई समेत नाम जोडेर बदनाम गर्न खोजेको बताएका छन्।
लेखापाल कामेश्वर सहनीले भने, “नगरपालिकाको लेखा प्रणाली पारदर्शी छ । कुनै पनि भुक्तानी कानुन विपरीत गर्न सकिँदैन । सबै कागजात दुरुस्त भएपछि मात्रै भुक्तानी हुनेछ,” भने।
त्यस्तै कार्यवाहक मेयर अम्बेया खातुनका श्रीमान् मोहमद सेराज आलमले पनि आफूलाई अन्यायपूर्वक विवादमा तानिएको बताएका छन् । उनले भने, “म कुनै निर्णय प्रक्रियामा संलग्न छैन् । राजनीतिक वा व्यक्तिगत लाभका लागि मेरो नाम प्रयोग गरी बदनाम गर्ने प्रयास भएको छ।”
नगरपालिकाले सो विवादका सम्बन्धमा आन्तरिक समीक्षा अघि बढाएको र आवश्यक परे कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।








