सर्लाही, भदौ २५ गते ।
बुधबार बिहान सर्लाही जिल्लाको गम्हरिया नजिक रहेको बंशल पेट्रोल पम्पमा आगलागी भएको दृश्य खिचिरहेका पत्रकारमाथि दुर्व्यवहार भएको घटनाले सम्पूर्ण पत्रकारिता क्षेत्र स्तब्ध बनेको छ ।
लोकतान्त्रिक पत्रकार संघ सर्लाहीका जिल्ला संयोजक तथा मेरो सान टिभीका पत्रकार राजिब साहमाथि केही अज्ञात व्यक्तिहरुले कुटपिट गर्दै मोबाइलबाट जबर्जस्ती फोटो तथा भिडियो डिलेट गराएका छन् । घटना उसबेला भएको हो जब पत्रकार साह समाचार संकलनको सिलसिलामा पेट्रोल पम्पमा लागेको आगोका दृश्यहरू खिचिरहेका थिए ।
सोही क्रममा उनीमाथि आक्रमण गरी हातपात गरिनुका साथै सञ्चार सामग्री डिलेट गराउन दबाव दिइएको थियो । लोकतान्त्रिक पत्रकार संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माले विज्ञप्ति जारी गर्दै सो घटनाको घोर भर्त्सना गरेका छन् । “नेपाल नयाँ युगमा प्रवेश गरिरहँदा प्रेस स्वतन्त्रता माथि भएको यस्तो आक्रमण असह्य छ । दोषीको तत्काल पहिचान गरी कडा कारबाही होस् भन्ने हाम्रो माग छ,” अध्यक्ष वर्माले विज्ञप्तिमा उल्लेख गरेका छन् । संघले स्थानीय प्रशासनसँग घटनामा संलग्न दोषी व्यक्तिहरूको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन माग गरेको छ । साथै, भविष्यमा यस्ता घटनाको पुनरावृत्ति नहोस् भनेर सुरक्षा संयन्त्रलाई अझ प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ ।
प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार हो भन्ने स्मरण गराउँदै पत्रकार संघले सम्पूर्ण पत्रकारलाई ऐक्यबद्ध भएर सशक्त प्रतिवाद गर्न आह्वान गरेको छ ।








