२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

देशभर सेना परिचालन, अझै जल्दैछ सिंहदरबार, सेयर बजार र बैंकहरू बन्द

काठमांडौ,२५ गते भादौ ।

प्रदर्शनकारीहरूको आगजनीका कारण सिंहदरबारका दर्जनौँ मन्त्रालय जलेका छन्। प्रारम्भिक विवरण अनुसार, केही सीमित निकाय बाहेक अधिकांश मन्त्रालयमा क्षति पुगेको छ।

सिंहदरबारको मुख्य भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आगोले ध्वस्त हुने अवस्थामा छ र अहिले पनि आगो बलिरहेको छ। गृह, ऊर्जा, शिक्षा, परराष्ट्र लगायतका मन्त्रालयमा पनि आगो लागेको छ। केही कार्यालयभित्रको अवस्था हाल थाहा नभएको सुरक्षाकर्मीले बताएका छन्।

प्रदर्शनकारीहरूले अधिकांश मन्त्रालय, निकाय र परिसरमा रहेका सवारीसाधनमा समेत आगो लगाएका छन्। संघीय संसदको सिंहदरबारस्थित सचिवालयका गाडी जलेका छन् भने प्रायः सबै दलको संसदीय कार्यालय र एक मन्त्रीको गाडीसमेत क्षति पुगेको छ।

अदालत प्रशासनले एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि सम्पूर्ण पेसी स्थगित गरिएको जनाएको छ ।

“आगजनीको कारण सर्वोच्च अदालत पूर्ण रूपमा जली अदालतमा रहेको मुद्दाका मिसिल, सर्भर, इजलाससमेत जलेर नष्ट भएको हुँदा आजको लागि तोकिएका मुद्दाको पेसी स्थगित गरिएको र भोलिदेखिका पेसीमा रहेका मुद्दाहरूको सुनुवालाई अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको ब्यहोरा समेत जानकारीको लागि अनुरोध छ,” सूचनामा भनिएको छ ।

मिडिया र सुरक्षा निकायमा असर

नेपाल टेलिभिजनमा प्रवेश गरी तोडफोड गरिएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र रेडियो नेपालको कार्यालयमा पनि कर्मचारीहरुको अनुनय विनयले प्रदर्शनकारी रोकिएका थिए।

अहिले सिंहदरबार परिसरमा नेपाली सेनाको टोली गस्ती गरिरहेको छ र सर्वसाधारण तथा कर्मचारीलाई प्रवेशमा रोक लगाइएको छ। मुख्य भवन र केही कार्यालयहरूबाट अझै आगो दन्किरहेको छ।

सेनाको परिचालन र सुरक्षा व्यवस्था

काठमाडौँ उपत्यकासहित देशभर नेपाली सेनासहितका सुरक्षा फौज शान्ति सुरक्षा कायम गर्न परिचालन भएका छन्। सेनाको टोलीले टोल–टोलमा पसल बन्द गर्न आग्रह गरिरहेका छन् र अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

ऐतिहासिक, सामाजिक, सांस्कृतिक, धार्मिक स्थल तथा व्यक्तिगत सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न सबै सुरक्षा निकाय तैनाथ छन्। अवाञ्छित गतिविधि भएमा तत्काल सुरक्षा फौजलाई खबर गर्न सेनाले पुनः आग्रह गरेको छ।

दुई दिन सेयर बजार बन्द 

यसबीच, आज र भोलि सेयर कारोबार नहुने भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जारी गरेको सूचनाअनुसार, “हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगन गर्न अनुरोध भएकाले २०८२ भदौ २५ र २६ गते सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ।”

बैंकहरू पनि नखुल्ने 

बुधबार देशभरका सबै बैंक पूर्ण रूपमा बन्द हुने भएका छन्। राष्ट्र बैंकसँग छलफल गरी नेपाल बैंकर्स संघले बन्द गर्ने निर्णय गरेको हो।

बैंकका महत्त्वपूर्ण कागजात जलाउनुपर्ने धम्कीपूर्ण सन्देश आएकोले बन्द गरिएको संघले जनाएको छ ।

सेनाले सुरक्षा व्यवस्थाको नेतृत्व लिएसँगै वातावरण क्रमशः शान्त हुँदै गएपछि बैंकहरू बिहीबारबाट क्रमशः खुल्नेछन्।

मंगलबारको प्रदर्शन, तोडफोड र आगजनीका क्रममा केही बैंकका कार्यालयहरूमा क्षति पुगेको छ। धेरै एटीएमहरू तोडफोड भए पनि नगद सुरक्षित रहेको जनाइएको छ।

राष्ट्रिय वाणिज्य बैंकको नयाँ बनेश्वर शाखामा भल्टमा प्रवेश गर्ने प्रयास भए पनि नेपाली सेनाले संलग्नहरूलाई नियन्त्रणमा लिएको थियो।

उक्त शाखामा भौतिक क्षति भए पनि भल्ट सुरक्षित रहेकोले नगदमा कुनै क्षति भएको छैन।

भत्तभटेनी सुपरमार्केट, बत्तिसपुतलीमा प्रदर्शनकारीले जलाउँदा हिमालयन बैंकको शाखा पूर्ण रूपमा जलेको छ। लैनचौरमा रहेको प्रभु बैंकको शाखामा समेत तोडफोड गरिएको छ भने एटिएम मेसिनमा पनि तोडाफोड गरिएको छ ।

यद्यपि, भल्ट सुरक्षित भएकाले नगद सुरक्षित नै रहेको बैंकका अधिकारीहरूले पुष्टि गरेका छन्।

चितवनको भरतपुर र मोरङको विराटनगरस्थित भाटभटेनी स्टोरमा रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकका दुई शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भए पनि भल्ट सुरक्षित छ।

सरकारी कार्यालयमा आगजनी हुँदा त्यहाँ रहेका बैंकको सेवा केन्द्रहरू पनि क्षतिग्रस्त भएका छन्।

संघका अनुसार राष्ट्र बैंकको समन्वयनमा देशभरका शाखा र एटीएमहरूमा भएको क्षतिको विवरण संकलन भइरहेको छ। धेरै सरकारी एक्सटेन्सन काउन्टर र एटीएमहरू तोडफोडमा परेका छन्, तर नगद लुटिएको सूचना आएको छैन। अर्थ डबली

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।