बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ २१ गते ।
दुर्गाभगवती गाउँपालिका–३, मत्सरीमा डिम्पल झा स्मृतिमा स्थापित छात्रवृत्ति तथा छोरी संरक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा छोरी जन्माउने आमाहरूलाई सम्मानस्वरूप नगद पाँच–पाँच हजार रुपैयाँ वितरण गरिएको छ भने शैक्षिक रूपमा उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
कक्षा १२ मा ३.६ जिपिए प्राप्त गरेकी अनुष्का राम र ज्योति सराफलाई जनही नगद २५ हजार रुपैयाँ पुरस्कार स्वरूप प्रदान गरिएको वडा अध्यक्ष डिके झाले जानकारी गराउनु भएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष एवम् पूर्व मन्त्री अनिल कुमार झा थिए । उनले दिवंगत नेतृ डिम्पल झाले मधेस प्रदेश र आफ्नाे गाउँसमाजकाे लागि पुर्याएकाे योगदानलाई स्मरण गर्दै यस्तो प्रेरणादायी कार्यक्रम विरलै मात्र हेर्न पाइने बताएका थिए। उनले कार्यक्रम सफल रूपमा सम्पन्न गर्नुभएका वडा अध्यक्ष डी.के. झालाई विशेष धन्यवाद समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा दुर्गाभगवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तव, नेता रेवन्त झा, मैथिली ब्राह्मण संघका कोषाध्यक्ष नवीन झा, मनोज झा, स्थानीय पत्रकार, भद्रभलाद्मी, अभिभावक, विद्यार्थी तथा ज्येष्ठ नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
वडा अध्यक्ष डी.के. झाले कार्यक्रममा जानकारी दिँदै भन्नुभयो, “हाम्रो वडा मात्रै हैन, सिंगो समाजमा शिक्षा र छोरीको सम्मानको संस्कृति फैलियोस् भन्ने उद्देश्यले यस्ता कार्यक्रमहरू गर्दै आएका छौं । यसअघि पनि एमबिबिएस अध्ययनमा नाम निकालेका दुई छात्रालाई जनही ५१ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरेका थियौं।” उहाँले यस्ता दर्जनौं सम्मान तथा पुरस्कारहरूको स्थापनाकाे योजना अघि सारिएको जानकारी पनि दिनुभयो ।








