काठमाडौं, भदौ २७ – आम जनता पार्टीका अध्यक्ष प्रभु साहले हालै जेन जीको नेतृत्वमा भएको जन आन्दोलनमाथि भएको कथित सम्झौताप्रति कडा आपत्ति जनाएका छन्। उनले उक्त सम्झौतालाई “धोकापूर्ण” भन्दै, यसले आन्दोलनको मर्म र ताजा जनादेशमाथि गम्भीर कुठाराघात भएको टिप्पणी गरेका छन् ।
प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष साहले आन्दोलनको उद्देश्य केवल नेतृत्व परिवर्तन नभई, “गलत संरचना र भ्रष्ट प्रणालीको समूल अन्त्य” भएको स्पष्ट पारे। “समस्या व्यक्तिमा होइन, संरचनामा छ,” भन्दै उनले अहिलेको सरकार, संसद र संविधान स्वयं बेथिति, लुट र भ्रष्टाचारको मूल जड भएको दाबी गरेका छन् ।
उनले भने, “जसरी मेसिन परिवर्तन नगरी उत्पादन प्रणाली परिवर्तन गर्न सकिँदैन, त्यसैगरी संरचना नबदली व्यवस्था सुधार सम्भव छैन। हामी सतहमा होइन, गहिराइमा पुगेर समाधान खोज्न चाहन्छौं।”
साहले जन आन्दोलनबाट व्यक्त भएको जनचाहनालाई पुरानै व्यवस्थामा सीमित गर्न खोज्नु जेन जीको नेतृत्वमा भएको जनक्रान्तिको अपमान भएको बताए। साथै, उनले यस आन्दोलनलाई “कंलकित” हुनबाट बचाउन र “शाहिदहरूको सपना तथा रगतको सम्मान गर्न” सो सम्झौतालाई अस्वीकार गर्न आग्रह गरेका छन् ।
अन्त्यमा, उनले वर्तमान व्यवस्था खारेज गर्दै नयाँ, न्यायपूर्ण र उत्तरदायी संरचना निर्माणको पक्षमा दृढतापूर्वक अघि बढ्न जनतालाई आह्वान गरेका छन् ।








