आरके श्रीवास्तव,राैतहट,भदौ २७ गते ।
रौतहटकाे गरूडामा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले आज गरूडा नगरपालिकामा शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै संविधानको रक्षा र जनमतको सम्मानको माग गरेका छन् । प्रदर्शनमा सहभागीहरूले ‘संविधानको रक्षा गर’, ‘राष्ट्रपतिलाई सार्वजनिक गर’, ‘सैनिक शासन चाहिँदैन’ जस्ता नारा लगाउँदै सरकार र संवैधानिक अंगहरूको भूमिकामाथि प्रश्न उठाएका छन् ।

प्रदर्शनमा कांग्रेसकाे तर्फबाट गरूडाका मेयर प्रत्यासी सुनिलकुमार यादवले वर्तमान राजनीतिक अवस्थाले संविधानमाथि संकट सिर्जना गरेको भन्दै युवाहरूको आवाजको समर्थनमा सडकमा उत्रिनु परेको बताए । उनले भने, “संविधान बिथोल्ने प्रयास भइरहेछ, त्यसविरुद्ध हामी सडकमा छौं । नेपाली जनताले आफूले चुनेको संविधान चाँडै गुमाउनु पर्ने परिस्थिति सृजना भएको छ, हामी त्यसलाई सशक्त रूपमा प्रतिवाद गर्छौं।”
उनले आन्दोलनमा युवाहरूको नेतृत्व प्रशंसनीय रहेको उल्लेख गर्दै, कांग्रेस सधैं संविधानको रक्षामा अग्रसर रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यसैगरी वडा नं. ५ का वडा अध्यक्ष प्रत्यासी रमेश प्रसाद यादवले भने, “हामी लोकतन्त्रमा विश्वास राख्छौं। अहिले जुन प्रकारको अपारदर्शी राजनीतिक खेल भइरहेको छ, त्यो न त जनता चाहन्छन् न त लोकतन्त्रको मर्मले स्वीकार्छ। जनताका अधिकार र आवाजमाथि कुठाराघात गर्न खोजियो भने हामी चुप लाग्ने छैनौं।”

प्रदर्शनमा कांग्रेसका उपमेयर प्रत्यासी पुनम कुमारी चौधरी, पूर्व मेयर रामस्नेही यादव लगायत दर्जनौं नेता तथा कार्यकर्ता सहभागी थिए । कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो ।
यस किसिमको प्रदर्शनले स्थानीय तहदेखि केन्द्रसम्म जनप्रतिनिधिहरू संविधान र जनताको पक्षमा एकमत हुँदै आएका छन् भन्ने सन्देश दिएको विश्लेषकहरूको भनाइ छ ।








