काठमाडौं, भदौ २४ ।
खानेपानी मन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति सार्वजनिक गर्दै, हिजो जेनजी युवा पुस्ताले गरेको आन्दोलनप्रति समर्थन जनाउँदै र सरकार तथा प्रशासनद्वारा गरिएको दमनको कडा विरोध गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् । मन्त्री यादवले आफ्नो सन्देशमा लेखेका छन्,

“प्रिय युवा भाइबहिनीहरू, तपाईं नै मेरो प्रथम सहयोगी र मेरो जोश र ऊर्जाका स्रोत हुनुहुन्छ।” उनले आन्दोलनमा सहभागी युवाहरूप्रति ऐक्यबद्धता जनाउँदै, संयमता अपनाउन र युवा पुस्तालाई सही मार्गदर्शन दिन सबैलाई अपिल गरेका छन् । उनको अनुसार, आन्दोलनको आवाज दबाउने सरकारी प्रयास अस्वीकार्य रहेको र यस्तो दमन लोकतान्त्रिक मूल्यविपरीत भएको छ । राजीनामासँगै मन्त्री यादवले अबको यात्रामा युवाहरूसँग काधमा काध मिलाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसअघि काठमाडौंको विभिन्न स्थानमा जेनजी पुस्ताद्वारा गरिएको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप र धरपकडको घटनाले चर्को आलोचना खेपिरहेको छ । सोही घटनाक्रमको विरोधस्वरूप मन्त्री यादवले पदत्याग गरेका हुन् ।








