आरके श्रीवास्तव,राैतहट,भदौ २८ गते ।
रौतहट क्षेत्र नं. ३ अन्तर्गत कटहरिया बजारमा आज नेपाली कांग्रेस र नेकपा एमालेबीच संयुक्त बैठक सम्पन्न भएको छ । बैठकमा हालैका दिनमा जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका युवाहरुप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरिएको छ ।
बैठकमा सहभागी नेताहरुले देशको पछिल्लो राजनीतिक, सामाजिक तथा आर्थिक अवस्था बारेमा गम्भीर छलफल गरेका थिए । सहभागीहरुले युवाहरुको बलिदानले देशलाई नयाँ दिशा दिने विश्वास व्यक्त गर्दै उनीहरुको योगदानलाई स्मरणीय बनाउने प्रतिबद्धता जनाए ।
बैठकपछि नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले सामाजिक संजालमा लेखेका छन्, “देशमा शान्ति व्यवस्था कायम गर्न हामी सबैले आ–आफ्नो स्थानबाट योगदान दिनु आवश्यक छ ।
देश जति खरानी हुने थियो भइसक्यो, अब सम्पूर्ण नागरिकको दायित्व हो– देशलाई पुनः हाँसिलो, उज्यालो बनाउने।”
राजनीतिक रुपमा प्रतिस्पर्धी ठानिएका दुई ठूला दलहरूको यो सहकार्य र सहमति जनस्तरमा सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ । बैठकमा दुबै दलका स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।








