राैतहट,कार्तिक १२ गते ।
रौतहटको कटहरिया नगरपालिकामा आजदेखि करार र ज्यालादारीका कर्मचारीहरूले तालाबन्दी गरेका छन् । नगरपालिका मातहतका वडा नं. १ देखि वडा नं. ९ सम्मका वडा कार्यालयहरूमा कार्यरत कर्मचारीहरूले आफ्नो तलबभत्ता बक्यौता भुक्तानी नहुँदा असन्तुष्टि जनाउँदै सबै वडा कार्यालयमा तालाबन्दी गर्दै नगरपालिका कार्यालय समेत बन्द गरेका हुन् ।
कर्मचारीहरूले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले विगत असोज २१ गतेदेखि २७ गतेसम्मको आन्दोलनका क्रममा दिपावली र छठ पर्व अगावै बाँकी तलबभत्ता भुक्तानी गर्ने लिखित आश्वासन दिएको भए पनि त्यो कार्यान्वयन नहुँदा पुनः आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।
कर्मचारीहरूले २०८२ कार्तिक १२ गते बसेको बैठकले शान्तिपूर्ण रूपमा तालाबन्दी गर्दै “धारणा कार्यक्रम” अगाडि बढाउने निर्णय गरेको हो । उनीहरूले ज्ञापनपत्र मार्फत कटहरिया नगरपालिकाका कार्यालय प्रमुखलाई यो बारे औपचारिक जानकारी दिएका छन् ।
उनीहरूले बोधार्थका लागि जिल्ला प्रशासन कार्यालय रौतहट, जिल्ला समन्वय समिति रौतहट, र वडा नं. १ देखि ९ का वडा कार्यालयहरूमा पनि ज्ञापनपत्र पठाएका छन् ।
कर्मचारीहरूले भनेका छन्, “हामीले लामो समयदेखि नगरपालिकाको सेवा सुम्पिँदै आएका छौं, तर तलबभत्ता नपाउँदा दैनिक जीवन प्रभावित भएको छ। जबसम्म बक्यौता रकम भुक्तानी हुँदैन, हामी शान्तिपूर्ण आन्दोलन जारी राख्नेछौं।”
यसबारे नगरपालिकाका जिम्मेवार अधिकारीहरूले भने औपचारिक प्रतिक्रिया दिएका छैनन् ।








