आरके श्रीवास्तव,राैतहट,०५ गते माघ ।
रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिने तयारीमा रहनु भएका नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले औपचारिक रूपमा आफ्नो उम्मेदवारीबारे जानकारी गराउनु भएको छ ।
कुशवाहाका अनुसार आगामी फाल्गुन २१ मा हुुने निर्वाचनमा नेकपा एमालेको पार्टी केन्द्रीय सचिवालयको निर्णयअनुसार रौतहट क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फको टिकट सुनिश्चित भइसकेको छ । “पार्टीको निर्णयअनुसार मलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाइएको छ। पार्टी र जनताको विश्वासलाई जितमा बदल्न म पूर्ण रूपमा प्रतिबद्ध छु,” उहाँले बताउनु भयो ।
उहाँ २०७४ सालको निर्वाचनमा मधेस प्रदेश सभामा निर्वाचित भइसकेका अनुभवी नेता हुनुहुन्छ । विगतको राजनीतिक अनुभव र संगठनात्मक सक्रियताका कारण यस क्षेत्रका कार्यकर्ता तथा समर्थकहरू उत्साहित देखिएका छन् ।
कुशवाहाले मनोनयन दर्ताका लागि आफू पूर्ण रूपमा तयार रहेको पनि स्पष्ट पार्नु भएको छ । “आगामी निर्वाचनमा रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको विजय सुनिश्चित गर्न सबैसँग सहकार्य गर्दै अघि बढ्नेछु,” उहाँको भनाइ छ ।
यसैबीच, नेकपा एमाले रौतहट क्षेत्र नम्बर ३ ले पार्टी केन्द्रीय सचिवालयको निर्णयअनुसार कमरेड कुन्दन कुशवाहालाई प्रत्यक्षतर्फ टिकट सुनिश्चित भएकोमा अग्रिम बधाई तथा शुभकामना व्यक्त गरेको छ । पार्टीले आगामी निर्वाचनमा कुशवाहाको नेतृत्वमा सशक्त प्रतिस्पर्धा हुने विश्वास व्यक्त गरेको छ ।








