आरके श्रीवास्तव,राैतहट,०९ गते पुस ।
रौतहट । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि ज्ञानेन्द्र यादवले उखु किसानहरूले भोग्दै आएको सिन्डिकेट (जिल्लाबन्दी) र अनुदान रकमको ढिलासुस्तीप्रति गम्भीर ध्यानाकर्षण गराएका छन् । किसान सङ्घर्ष समितिको तर्फबाट बिजयपुर बजारमा आयाेजित सभामा बोल्दै यादवले किसानका जायज माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका हुन् ।
“सम्पूर्ण आदरणीय किसान दाजुभाइ तथा दिदीबहिनीहरू, सञ्चारकर्मी मित्रहरू र महानुभावहरू,” भन्दै आफ्ना कुरा राखेका यादवले अन्नदाता किसानको पीडा अब बेवास्ता गर्न नहुने स्पष्ट पारे । उनले किसानले आफ्नो उत्पादन जहाँ बढी मूल्य पाउँछन्, त्यहीँ बेच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताए ।
सिन्डिकेटका विषयमा यादवले भने, “उखु किसानमाथि लगाइएको जिल्लाबन्दी सरासर अन्याय हो । पसिना बगाएर फलाएको उखु आफूले चाहेको जिल्लामा बेच्न पाउनु किसानको मौलिक अधिकार हो । यो सिन्डिकेट तत्काल खारेज गरिनुपर्छ।”
अनुदानका विषयमा बोल्दै उनले सरकारले घोषणा गरेको प्रति क्विन्टल ३५ रुपैयाँ अनुदान अब आश्वासनमा सीमित नरहनुपर्नेमा जोड दिए । “कुनै बहाना नगरी अनुदान रकम तत्काल किसानको खातामा जम्मा गरिनुपर्छ,” यादवले माग गरे ।
यादवले अन्त्यमा चेतावनी दिँदै भने, “यदि हाम्राे यी जायज मागहरूलाई बेवास्ता गरियो भने किसान सङ्घर्ष समिति थप कडा आन्दोलनमा जान बाध्य हुनेछ ।” किसानको हक–हितका लागि निर्णायक कदम चाल्नुपर्ने उनको भनाइ छ ।








